Mahalaxmi Bikas Bank Successfully Conducts Various Corporate Social Responsibility (CSR) Activities
July 16, 2026
महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्यजस्ता विभिन्न क्षेत्रहरूमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नीतिअनुरूप बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेचीनगर–०७, झापा जिल्लामा रहेको श्री पृथ्वी माध्यमिक विद्यालय, बरेङ गाउँपालिका वडा नं. ०४, बागलुङमा रहेको श्री सल्यान सुखौरा माध्यमिक विद्यालय, हेटौंडा, मकवानपुरमा रहेको श्री वंशगोपाल आधारभूत विद्यालय तथा गैँडाकोट–०१, चितवनमा रहेको श्री नवदुर्गा आधारभूत विद्यालयमा अध्ययनरत छात्राहरूलाई सुरक्षित र सहज रूपमा शौचालय सुविधा प्रदान गर्न आधुनिक शौचालय निर्माणका लागि विभिन्न रोटरी क्लबहरूमार्फत बैंकले आर्थिक सहयोग गरेको छ।
सोही अन्तर्गत बैंकको शाखा कार्यालय, बेलौरीमार्फत श्री कृष्ण आधारभूत विद्यालय, शुक्लाफाँटा नगरपालिका–०१, रामनगर, कञ्चनपुरमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई ८० थान विद्यालय झोला वितरण गरेको छ। विद्यार्थीहरूलाई अध्ययनमा सहजता होस् भन्ने उद्देश्यका साथ २०८३/०३/१२ मा एक कार्यक्रमबीच उक्त विद्यालय झोलाहरू वितरण गरिएको हो।
त्यसैगरी, जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. २, सिमरा, बारामा रहेको सिमरा कलेजमा शैक्षिक पक्षको थप विकास र पठनपाठन कार्यलाई थप प्रविधिमैत्री बनाउन सहयोग पुर्याउने उद्देश्यका साथ यस बैंकको शाखा कार्यालय, सिमरामार्फत १ थान ल्यापटप सहयोग गरिएको छ। आर्थिक स्रोतको अभावले गुणस्तरीय शिक्षा प्रदान गर्नबाट कोही वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ उक्त सहयोग गरिएको हो।
त्यसैगरी, केदारस्यूँ–०४, बागथला, बझाङमा रहेको शिक्षोदय माध्यमिक विद्यालयको किशोरकिशोरी मैत्री सूचना केन्द्रलाई आवश्यक पर्ने विभिन्न सामग्रीहरू, जस्तै थर्मोमिटर, बी.पी. सेट, प्राथमिक उपचार बाकस, स्ट्रेचर लगायतका विभिन्न स्वास्थ्य तथा खेलकुद सामग्रीहरू खरिद गर्नका लागि यस बैंकको शाखा कार्यालय, बझाङमार्फत आर्थिक सहयोग गरिएको छ।
त्यसैगरी, नेपालकै ठूलो शक्तिपीठको रूपमा पाल्पा जिल्ला, रिब्दिकोट गाउँपालिका वडा नं. ०४ मा रहेको श्री भैरवनाथ मन्दिरमा फोहोरको प्रभावकारी रूपमा व्यवस्थापन गर्नका लागि १० थान डस्टबिन हस्तान्तरण गरिएको छ। त्यसैगरी, श्री राष्ट्रिय माध्यमिक विद्यालय, भीमफेदी–१, सानुटार, मकवानपुरमा आर.ओ. सहितको पिउने पानी संरचना निर्माणका लागि बैंकको शाखा कार्यालय, हेटौंडामार्फत आर्थिक सहयोग गरिएको छ। स्वच्छ पानी, स्वस्थ जीवनको आधार भन्ने मूल मर्मलाई आधार मान्दै गुणस्तरीय खानेपानीमा पहुँच विस्तारमा सहयोग पुर्याउने उद्देश्यका साथ आर्थिक सहयोग गरिएको हो। साथै, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नै श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, चपुर–१०, रौतहटलाई सेतो डिजिटल बोर्ड प्रदान गरिएको छ।
"सबल बैंक, सफल सहकार्य" को नारालाई आत्मसात् गर्दै नेपाली जनताको घरदैलोमा अनवरत रूपमा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकले हालै मात्र काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. ३०, ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ।
Download file for full story:
Download




